ललितपुर । जनमत वाङ्मय प्रतिष्ठान र जनमत साहित्यिक मासिकको आयोजनामा महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम चाकुपाट, ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार मोहन दुवालले गरेका थिए ।
कार्यक्रममा मोहन दुवालले ’हामी निरीह प्राणीका हत्यारा हौँ’ शीर्षकमा व्यङ्ग्यात्मक कविता वाचन गर्दै नेपाली भाषा र साहित्यलाई राज्यले अनुत्पादक ठान्ने प्रवृत्तिले सर्जकहरूमाथि अन्याय भएको बताए । उनले मध्यम वर्गका जनता, गरिब र दुःखीमाथि भइरहेको अन्याय, भ्रष्टाचार र अराजकता चित्रण गर्दै साहित्यकारले यस्ता अवस्थामा चुप बस्न नहुने कुरामा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि, चर्चित कवि मोमिला जोशीलाई अध्यक्ष मोहन दुवालले सम्मान गरेका दिए । उनले सम्मान ग्रहण गर्दै साहित्यमा सामाजिक अनुमोदन पाउनु ठूलो कुरा भएको बताए । मोमिलाले ’भीमसेनको सुसाइट नोट’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।

विशेष अतिथि उषा शेरचनले महिला र समाजले भोगेका पीडा र अन्यायविरुद्ध जागरूकता, नयाँ चेतना र विद्रोहको खोजी अपरिहार्य रहेको बताइन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय महासचिव चेतनाथ धमलाले कविगोष्ठीमा वाचन गरिएका १४ वटा कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले कविताहरूले देशको वर्तमान अवस्था, कुशासन, अराजकता, अन्याय र हिंसाविरुद्ध प्रतिबिम्बित भएको धारणा राखे ।
’आमा’ शीर्षक कविताले मातृप्रेम, पारिवारिक र सामाजिक हिंसालाई चित्रण गरेको उल्लेख गरे । कार्यक्रममा सिर्जना दुवालले स्वागत मन्तव्यसहित ’आत्मीय गठबन्धन’ शीर्षक कविता वाचन गरेकी थिइन् ।
साथै प्रा.डा. सविना श्रेष्ठ, डा. सावित्री श्रेष्ठ, कमला कायस्थ, तारा केसी, पूर्णदेवी न्यौपाने, राधादेवी राजवंशी, सविता श्रेष्ठ, शारदा घिमिरे भैल, धनकुमारी न्यौपाने, मोतीशोभा श्रेष्ठले आ–आफ्नो कविता वाचन गरेका थिए ।
कार्यक्रमको उद्घोषण राजु सरकारले गरेका थिए । जनमत वाङ्मय प्रतिष्ठानले ४२ वर्षदेखि नेपाली भाषा, साहित्य र संस्कृतिमा योगदान दिँदै आएको छ र स्रष्टा उत्पादनशालाको रूपमा देश–विदेशमा समेत परिचित रहेको छ।













