काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घले आफ्ना पूर्व केन्द्रीय अध्यक्ष, ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार एवं आख्यानकार कीर्तिशेष नगेन्द्रराज शर्माको सम्झनामा ‘सम्झनामा कविगोष्ठी’ आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ।
१९९४ साल चैत २२ गते रामेछापको मन्थलीमा जन्मिएका शर्मा २०८२ साल असार ३१ गते ८९ वर्षको उमेरमा काठमाडौँको गौरीघाटमा निधन भएका थिए। कथा, उपन्यास, कविता र नाटकजस्ता विधामा कलम चलाएका शर्माका ‘महापुरुष’ (उपन्यास, २०२८), ‘दिवा स्वप्न’ (उपन्यास, २०२९), ‘पीपलको बोटमुनि’ (कथासङ्ग्रह, २०३९), ‘एकान्तका आफन्तहरू’ (कथासङ्ग्रह, २०५५) लगायतका कृति प्रकाशित छन्।
पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा कीर्तिशेष शर्माको तस्बिरमा पुष्पगुच्छा तथा फूलको माला अर्पण गरी एक मिनेट मौनधारणसहित शोक कविगोष्ठी प्रारम्भ गरिएको थियो।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले नगेन्द्रराज शर्माको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै शर्मा साहित्यिक पत्रकारिताका शिखर व्यक्तित्व रहेको बताए। शर्माबाट आफूले समेत साहित्यिक पत्रकारिताका क्षेत्रमा प्रेरणा र मार्गदर्शन प्राप्त गरेको उल्लेख गर्दै दुवालले शर्माको योगदान साहित्यिक क्षेत्रमा सदैव स्मरणीय रहने बताए।
दुवालले कार्यक्रममा वाचन गरिएका शोक कवितालाई ‘जनमत’ साहित्यिक मासिकमा विशेषाङ्कका रूपमा प्रकाशित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले कार्यक्रमकै क्रममा शर्माप्रति श्रद्धासुमन अर्पण गर्दै कविता वाचनसमेत गरे।
कार्यक्रमका विशिष्ट अतिथि तथा वरिष्ठ साहित्यकार डा. तुल्सी भट्टराईले शर्माले नेपाली भाषा तथा साहित्यमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताए। ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकामार्फत शर्माले थुप्रै स्रष्टालाई साहित्यिक क्षेत्रमा अघि बढ्न अवसर प्रदान गरेको उल्लेख गर्दै भट्टराईले शर्माजस्तो स्पष्ट वक्ता तथा साधक व्यक्तित्व गुमाउँदा साहित्यिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए।
कार्यक्रममा सङ्घका पूर्व केन्द्रीय सदस्य तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, ‘शब्दपथ’का प्रधान सम्पादक किशोर पहाडी, साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली, ‘अभिव्यक्ति’का सम्पादक पवन आलोक तथा विष्णुप्रसाद शर्मा पराजुलीले शर्माको व्यक्तित्व, कृतित्व तथा साहित्यिक पत्रकारितामा उनको योगदानबारे चर्चा गर्दै कविता वाचन गरे।
कीर्तिशेष शर्माका ज्येष्ठ सुपुत्र प्रणयराज शर्माले पनि आफ्ना पिताप्रति कवितामार्फत श्रद्धासुमन अर्पण गरे।
त्यसैगरी सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, केन्द्रीय उपाध्यक्षहरू रामप्रसाद पन्त र बालिका गिरी तथा पूर्व केन्द्रीय पार्षद अच्युत घिमिरेले शर्माको साहित्यिक पत्रकारिता, व्यक्तित्व र कृतित्वबारे चर्चा गरे।
सङ्घका केन्द्रीय सल्लाहकार तथा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल, सङ्घका पूर्व पार्षद तथा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट, सङ्घका उपाध्यक्ष नवराज पुडासैनी ‘ज्योत्स्ना’, कोषाध्यक्ष सूर्यप्रसाद लाकाजु तथा केन्द्रीय सदस्यहरू डा. शैलेन्दुप्रकाश नेपाल, ठाकुर शर्मा भण्डारी, यादव भट्टराई, रामसुन्दर देउजा, जगत वाशिष्ट र झ्याउरे कविताका अभियन्ता तथा हाइकुकार **रेणुका भट्टराई ‘मञ्जरी’**ले शोक कविता प्रस्तुत गर्दै शर्माप्रति श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रममा अतिथि कविका रूपमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष डा. कृष्ण सुवेदी ‘भारद्वाज’, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, देविका तिमिल्सिना, डा. राजेन्द्रप्रसाद अधिकारी, मणि लोहनी, कृष्ण प्रधान, प्रा.डा. सावित्री श्रेष्ठ, डा. दामोदर पुडासैनी ‘किशोर’, प्रल्हाद पोखरेल, डा. रामप्रसाद दाहाल, ललिता दोषी, कृष्ण बाउसे, डा. छायादत्त न्यौपाने, तेज विलास अधिकारी, राममणि ढुङ्गेल, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, बुद्धिराज पाण्डे, तुलसीराम पुडासैनी, सृजना दुवाल, डा. शेखरकुमार श्रेष्ठ, गोपाल बराल र वसन्त रिजाल लगायत ४१ जना कविले शोक कविता वाचन गर्दै श्रद्धासुमन अर्पण गरे।
कार्यक्रमको उद्घोषण सङ्घका महासचिव चेतनाथ धमलाले गरेका थिए। कार्यक्रममा शर्माको श्रद्धाञ्जलीमा प्रस्तुत गरिएको तस्बिर, पुष्पगुच्छा तथा ब्यानर सङ्घका अध्यक्ष मोहन दुवालले शर्माका ज्येष्ठ सुपुत्र प्रणयराज शर्मालाई हस्तान्तरण गरे।
कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष नरनाथ लुइँटेल, ‘जनमत’का सम्पादिका भारती श्रेष्ठ, नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी तथा साहित्यकारहरू दिव्य गिरी, प्रभात सापकोटा, भागवत ढकाल, स्पन्दन श्रेष्ठ, अरुण खत्री नदी, केशवप्रसाद पराजुली, मिसन अधिकारी, लभराज जोशी, निबन्ध आचार्य, लीलाराज दाहाल, ठाकुरप्रसाद अधिकारी र सञ्जय सोती लगायतको उपस्थिति रहेको थियो।




