September 25, 2026

लगातार वर्षापछि कर्णालीमा प्रदेशभरि सवारी चलाउन रोक

लगातार वर्षापछि कर्णालीमा प्रदेशभरि सवारी चलाउन रोक

वीरेन्द्रनगर । लगातारको वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै कर्णाली प्रदेशभर अन्तरजिल्ला सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।

शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगरबाट पहाडी तथा हिमाली जिल्लातर्फ जाने र ती जिल्लाबाट वीरेन्द्रनगर आउने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयहरूले सवारी आवागमन रोक्ने निर्णय गरेपछि प्रहरीले दैलेख, कालिकोटलगायत जिल्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेका सवारीसाधनलाई सम्बन्धित जिल्लामै रोकेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण सडक तथा यात्रामा जोखिम बढ्न सक्ने भएकाले अन्तरजिल्ला लामो दूरीका सवारीसाधन पूर्ण रूपमा रोकिएका हुन्।

उनका अनुसार अत्यावश्यक कामका लागि भने सम्बन्धित जिल्लाभित्र सीमित संख्यामा सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको छ।

प्रदेशभर वर्षा जारी रहेकाले सडकको अवस्था र मौसम हेरेर मात्रै सवारी सञ्चालनबारे थप निर्णय गरिने जनाइएको छ।

सम्बन्धित खबरहरु