October 8, 2026

कांग्रेस विभाजनको बाटोमा जान नहुने आङदेम्बेको चेतावनी

कांग्रेस विभाजनको बाटोमा जान नहुने आङदेम्बेको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देशको वर्तमान अवस्था चुनौतीपूर्ण रहेकाले पार्टीभित्रको एकतालाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै उनले बाह्य चुनौती र राष्ट्रिय परिस्थितिप्रति गम्भीर बन्नुपर्ने बेला पार्टीभित्रै टुटफुट र विभाजनको अवस्था आउन नहुने धारणा राखे । मुलुकलाई कुनै पनि बेला गम्भीर संकटतर्फ धकेलिन सक्ने भन्दै उनले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

आङदेम्बेले पार्टीभित्र नेतृत्वका लागि हुने प्रतिस्पर्धाभन्दा नेतृत्वप्रति विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मले कांग्रेसको नेतृत्वप्रति अपेक्षा राखेको उल्लेख गर्दै उनले नेताहरूबीचको एकता अहिलेको आवश्यकता भएको बताए ।

उनले कांग्रेसलाई केवल सरकार गठन गर्ने राजनीतिक दलका रूपमा सीमित गर्न नहुने पनि बताए । पार्टीको मूल विचार, सिद्धान्त र देशको दीर्घकालीन दिशाबारे गम्भीर बहस हुनुपर्ने उनको भनाइ थियो ।

सत्तामा पुग्नका लागि विभिन्न शक्ति र प्रवृत्तिसँग निरन्तर जोडिँदा कांग्रेस आफ्नो वैचारिक आधारबाट कमजोर बनेको आङदेम्बेले बताए । सत्ता प्राप्तिलाई मात्रै राजनीतिको केन्द्र बनाउँदा विगतकै अवस्था दोहोरिन सक्ने भन्दै उनले त्यसबाट पार्टीले पाठ सिक्नुपर्ने धारणा राखे ।

उनका अनुसार अब कांग्रेसले नेतृत्वका अनुहार परिवर्तन गर्ने मात्र नभई मुलुकलाई नयाँ राजनीतिक दिशा दिने क्षमता विकास गर्नुपर्छ । राष्ट्रियता र देशका विद्यमान समस्यासँग पार्टीको राजनीतिक एजेन्डालाई जोडेर अघि बढ्नुपर्ने उनले बताए ।

पार्टी संगठनलाई बलियो बनाउन जिल्ला तहसम्मका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउने विषयमा आफू प्रतिबद्ध रहेको आङदेम्बेले बताए । सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने भन्दै उनले कांग्रेसभित्र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

महाधिवेशनपछि कांग्रेस नयाँ ऊर्जा, विचार र स्पष्ट राजनीतिक दिशासहित अघि बढ्ने अपेक्षा व्यक्त गर्दै उनले पार्टीलाई आफ्नो सिद्धान्त र विचारबाट विचलित हुन नदिन नेता–कार्यकर्तालाई आग्रह गरे ।

सम्बन्धित खबरहरु

भर्खरै