काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संरचनामा सहमहामन्त्रीको संख्या उल्लेख्य रूपमा बढाउने भएको छ। संशोधित विधानअनुसार अब कांग्रेसमा १५ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाले सहमहामन्त्री पदलाई समावेशी, खुला र मनोनयन गरी तीन भागमा विभाजन गरेको छ। समावेशी समूहबाट ९, खुलातर्फ २ र सभापतिबाट ४ जना गरी १५ जना सहमहामन्त्री रहनेछन्।
समावेशी कोटामा महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ्गता समुदायका लागि एक–एक पद छुट्याइएको छ।
यसपटकको संशोधनमा अल्पसंख्यक/अपाङ्गता समुदायलाई छुट्टै क्लस्टरका रूपमा समेटिनु नयाँ व्यवस्था हो। अघिल्लो महाधिवेशनमा यस्तो क्लस्टर थिएन।
त्यसैगरी सहमहामन्त्रीमा पहिलोपटक खुला प्रतिस्पर्धाका लागि पनि दुई पद छुट्याइएको छ। सभापतिले भने चार जना सहमहामन्त्री मनोनीत गर्न पाउनेछन्, जसमा कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
यससँगै कांग्रेसको नयाँ नेतृत्व संरचनामा समावेशिता र विभिन्न समूहको प्रतिनिधित्व बढाउने प्रयास देखिएको छ। संशोधित विधानअनुसारको नयाँ संरचना १५औँ महाधिवेशनबाट कार्यान्वयनमा जानेछ।