ललितपुर । नेपाली हाइकु साहित्यको सिर्जना, वाचन, समीक्षा र विधागत बहसलाई निरन्तरता दिने उद्देश्यले सुरु गरिएको ‘राष्ट्रिय हाइकु वाचन’ शृङ्खलाको पहिलो कार्यक्रम सम्पन्न भएको छ। नेपाल हाइकु सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार ललितपुरको चापागाउँ दोबाटोस्थित ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा हाइकु कवि मोहन दुवालले ब्यानर वाचन गरेर ‘राष्ट्रिय हाइकु वाचन’ शृङ्खला–१ को उद्घाटन गर्नुभयो। सो अवसरमा नेपाली हाइकु लेखनमा विशेष योगदान पुर्याउनुभएका वरिष्ठ कवि तथा नेपाल सरकारका पूर्वराजदूत डा. दुबसु क्षेत्रीलाई ‘हाइकु सम्मान–२०८०’ प्रदान गरिएको थियो।
प्रमुख अतिथि दुवालले नेपाली हाइकु कविहरूले हाइकु लेखनका स्थापित सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेको धारणा व्यक्त गर्दै विधागत अनुशासन र सिर्जनात्मक अभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो। सम्मानित व्यक्तित्व डा. क्षेत्रीले जापानमा साहित्यलाई उच्च महत्त्वका साथ हेरिने गरेको आफ्नो अनुभव सुनाउँदै नेपाली हाइकुको आफ्नै परिवेश र विशेषता रहेकाले जापानी तथा नेपाली हाइकुलाई सिधै तुलना गर्न नमिल्ने बताउनुभयो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीले हाइकु कवितालाई शास्त्रीय सिद्धान्तका आधारमा मात्रै मूल्याङ्कन गर्न नहुने धारणा राख्नुभयो। विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसाल, पूर्व प्राज्ञसभा सदस्य तथा कवि राम विनय र प्रा. दिनेश चापागाईं ‘गोधूलि’ले हाइकु वाचनसहित शुभकामना मन्तव्य राख्नुभयो।
प्रा. चापागाईं ‘गोधूलि’ले कलामार्फत हाइकु प्रस्तुत गर्ने आफ्नो अभ्यासबारे अनुभव सुनाउँदै नेपाली र जापानी हाइकुलाई समानान्तर रूपमा अघि बढाउने उद्देश्यले विभिन्न देशमा हाइकु कला प्रदर्शनी गरेको जानकारी दिनुभयो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अध्यापक तथा समालोचक डा. विनोद मञ्जनले वाचित हाइकुमाथि समीक्षा गर्नुभयो। उहाँले हाइकु लेखनका सैद्धान्तिक पक्षको विवेचना गर्दै नेपाली हाइकु सिर्जना र शिल्प पक्षमा थप परिमार्जन आवश्यक रहेको औँल्याउनुभयो।
झ्याउरे कविता पुनर्जागरण अभियानका संयोजक तथा हाइकु कवि रेणुका भट्टराई ‘मञ्जरी’ले विसं २०५० को दशकदेखि नेपाली हाइकु लेखनमा भएका विकास र गतिविधिबारे समीक्षा गर्नुभयो। नागार्जुन वाङ्मयका अध्यक्ष तथा हाइकु कवि दिल पौडेलले हाइकुबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सिर्जना वाचन गर्नुभयो।
ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले शुभकामना मन्तव्य राख्दै आगामी शृङ्खलामा आफू पनि हाइकु वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय संयोजक तथा कवि भीम कुमाखीले पनि हाइकु वाचनसहित मन्तव्य राख्नुभयो।
कार्यक्रममा नेपाल सरकारका पूर्वराजदूत तथा हाइकु कवि भीम उदास, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य सचिव देवेन्द्र थुम्केली, ॐ समाज डेन्टलका इन्चार्ज कुसुम, समाजसेवी रविन गुरुङ, हाइकु कविहरू शरद शोभा, राजुराज देव बज्राचार्य, किरण शाक्य, राजेन्द्र सुवेदी, डा. अनूप श्रेष्ठाचार्य, हिमानी आचार्य र चन्द्रमान मालीलगायतको उपस्थिति थियो।
कार्यक्रमलाई बहुभाषिक बनाउने प्रयासस्वरूप नेपाल भाषामा पनि हाइकु वाचन गरिएको थियो। नेवा: हाइकु ख्य:का अध्यक्ष सुरेश प्रधानले नेपाल भाषाको हाइकु लेखन परम्पराबारे चर्चा गर्दै हाइकु वाचन गर्नुभयो। अतिथि हाइकु कविहरू कृष्णभक्त बोडे, सुधीर ख्वबि, पूर्णिमा शाक्य, धर्मकृष्ण सिकर्मी, शाक्य सुरेन र विजयरत्न तुलाधरले नेपाल भाषामा रचना सुनाउनुभयो।
त्यस्तै, अतिथि हाइकु कवि गणेश राईले वाम्बुले राई भाषामा हाइकु वाचन गर्नुभयो। गोपाल सञ्जेल, जुमन किरण, समाश्री, वशिष्ठ अधिकारी, नवराज सञ्जेल, राजाराम राउत, सन्तोष सिम्खडा, बैरागी जेठा, भोला ढकाल, मनोज शर्मा, सृजना सरोवर र दिनेश खरेललगायतले नेपाली भाषामा हाइकु वाचन गर्नुभयो।
तीन दर्जनभन्दा बढी हाइकु कविहरू सहभागी कार्यक्रममा नेपाली हाइकुको मौलिकता, लेखनका सिद्धान्त, जापानी हाइकुसँगको सम्बन्ध तथा विकासक्रमका विषयमा विस्तृत विमर्श भएको थियो। विभिन्न भाषामा हाइकु वाचन समेटिनु कार्यक्रमको महत्त्वपूर्ण पक्षका रूपमा देखिएको थियो।
नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष चेतनाथ धमलाले राष्ट्रिय हाइकु वाचन शृङ्खलाको सुरुआतसँगै नेपाली हाइकु सिर्जना, वाचन, समीक्षा र विधागत बहसलाई निरन्तरता दिने बताउनुभयो। उहाँले आफ्ना हाइकुसमेत वाचन गर्नुभयो।
सङ्घका महासचिव पुष्करराज बुढाथोकी ‘साउँतेली’ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घोषण सङ्घका केन्द्रीय सदस्य तथा हाइकु कवि होमशङ्कर बास्तोलाले गर्नुभएको थियो।