November 5, 2026

छवि बीसी र इन्द्रकला राईको स्वरमा पूर्वेली लोकभाका ‘धरान पानमारा’ सार्वजनिक

छवि बीसी र इन्द्रकला राईको स्वरमा पूर्वेली लोकभाका ‘धरान पानमारा’ सार्वजनिक

काठमाडौं । पूर्वी नेपालको मौलिक लोकसंस्कृति, जनजीवन र सांगीतिक पहिचानलाई समेट्दै नयाँ पूर्वेली लोकभाका गीत ‘धरान पानमारा’ सार्वजनिक भएको छ। छवि बीसी र इन्द्रकला राईको स्वरमा सजिएको उक्त गीतले पूर्वेली लोकसंगीतप्रेमी दर्शक तथा श्रोतामाझ नयाँ सांगीतिक प्रस्तुति थपेको छ।
गीतले पूर्वी नेपालको सांस्कृतिक परिवेश र लोकभाकाको मौलिकतालाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ । पछिल्लो समय आधुनिक संगीतको प्रभाव बढ्दै गइरहेको अवस्थामा स्थानीय लोकलय र मौलिक सांगीतिक शैलीलाई निरन्तरता दिने उद्देश्यले गीत तयार पारिएको हो।
गीतमा विमल छेवाचाली सुलभको शब्द रहेको छ भने संगीत संयोजन राज राईले गरेका छन्। गीतलाई छवि बीसी र इन्द्रकला राईले संयुक्त रूपमा स्वर दिएका छन् ।

त्यस्तै, गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन्। गीतको रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो।

पूर्वेली लोकगीत नेपाली संगीतको मौलिक पहिचान बोकेको महत्वपूर्ण विधा हो । विशेषगरी पूर्वी पहाडी तथा तराई क्षेत्रको जनजीवन, रहनसहन, प्रेमभाव, सामाजिक सम्बन्ध र सांस्कृतिक परम्परालाई लोकगीतमार्फत अभिव्यक्त गर्ने परम्परा रहँदै आएको छ । यही सांगीतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन ‘धरान पानमारा’ जस्ता गीतले भूमिका खेल्ने विश्वास गर्न सकिन्छ।

गीतका शब्द, संगीत र स्वरको संयोजनमार्फत पूर्वेली लोकभाकाको छुट्टै पहिचान प्रस्तुत गर्ने प्रयास गरिएको यस गीतले लोकसंगीतप्रति रुचि राख्ने श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै