September 27, 2026

बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो असर, १ हजार ३०३ मेगावाटसम्म प्रभावित

बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो असर, १ हजार ३०३ मेगावाटसम्म प्रभावित

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुर्‍याएको छ। विद्युत् उत्पादन केन्द्र, प्रसारण लाइन र सबस्टेसनमा आएको समस्याका कारण विभिन्न समयमा गरी १ हजार ३०३ मेगावाट बराबरको विद्युत् प्रणाली प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं उपत्यकामा विद्युत् प्रणालीमा उल्लेखनीय असर परेको छ। तर, १ हजार ३०३ मेगावाट एउटै समयमा अवरुद्ध भएको नभई विभिन्न स्थान र समयमा भएका उत्पादन, प्रसारण तथा लोड अवरोधको कुल योग हो।

सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ। कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब २०० मेगावाट प्रभावित भएको छ। रौघाट–दाना लाइनका दुई सर्किटमा आएको अवरोधबाट पनि करिब १५५ मेगावाट प्रभावित भएको छ।

बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्तिमा समेत असर परेको छ। पोखरा क्षेत्रका आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा प्रभाव परेको जनाइएको छ।

यस्तै, बुटवल क्षेत्रमा न्यू भरतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेर फाल्ट आएको थियो। चापर–पथलैया १३२ केभी लाइनमा समस्या आएपछि कावासोती सबस्टेसनमा केही समय लोड कटौती गरिएको थियो।

हेटौंडा क्षेत्रमा बाढीका कारण माण्डु ६६ केभीमा करिब ३२ मेगावाट प्रभावित भएको छ। भारतपुर सबस्टेसनमा उपकरणमा समस्या आएपछि आपूर्तिमा समेत असर परेको छ। सिमरा, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्ज क्षेत्रका उद्योगमा पनि विद्युत् आपूर्ति प्रभावित भएको छ।

काठमाडौं उपत्यकामा पाटन र टेकु क्षेत्रमा समेत केही समय विद्युत् अवरोध भएको थियो। पाटन सबस्टेसनमा प्रसारण लाइन ओभरलोड भएपछि समस्या देखिएको जनाइएको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ। क्षतिग्रस्त संरचनाको मूल्याङ्कन तथा मर्मतका लागि प्राविधिक टोलीहरू परिचालन गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सडक तथा पहुँचमार्ग अवरुद्ध भएकाले कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिन भइरहेको छ। बाटो खुल्नेबित्तिकै थप जनशक्ति, उपकरण र सामग्री परिचालन गरी विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइनेछ।

प्राधिकरणले ढलेका तार, पोल तथा क्षतिग्रस्त विद्युत् संरचनाबाट टाढा रहन उपभोक्तालाई आग्रह गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै