October 5, 2026

विपद् प्रभावित क्षेत्रमा काम तीव्र पार्दैछौं : प्रधानमन्त्री शाह

विपद् प्रभावित क्षेत्रमा काम तीव्र पार्दैछौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरोलगायत विपद्बाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा व्यवस्थापनका कामलाई तीव्रता दिइरहेको बताएका छन् ।

सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा विपद् व्यवस्थापनका काम अघि बढिरहेको जानकारी दिए ।

उनका अनुसार उपलब्ध जनशक्ति र स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै प्रभावित क्षेत्रमा आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । उनले विपद् व्यवस्थापनका विषयमा चिन्ता नलिन मुख्यमन्त्रीहरूलाई आग्रहसमेत गरे ।

बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्री सहभागी थिए । प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली तथा गण्डकी क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै पुनःस्थापना र व्यवस्थापनका काम अघि बढाइएको बताए ।

भविष्यमा हुने विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । हिमपहिरोको सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक काम अघि बढाइएको उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले विपद्को समयमा ज्यानको जोखिम मोलेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र राजनीतिक दलका प्रतिनिधिसहित सबैलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित खबरहरु

भर्खरै