September 16, 2026

महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम सम्पन्न

महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय महिला आयोगको आयोजना तथा पुनम फाउन्डेसन काठमाडौंको सहकार्यमा सञ्चालित महिला हिंसाविरुद्ध आत्मरक्षात्मक खेलकुद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जनकल्याण माध्यमिक विद्यालयमा आयोजित समापन तथा प्रमाणपत्र वितरण समारोहमा तालिममा सहभागी १५० जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय महिला आयोगका प्रवक्ता तथा सदस्य कृष्णकुमारी खतिवडा पौडेलले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. लिली थापा तथा विशेष अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य मोनालिसा खम्बु सहभागी थिए ।

त्यसैगरी कार्यक्रममा पुनम फाउन्डेसनका अध्यक्ष पुनम सुब्बा, राष्ट्रिय महिला आयोगका सचिव, जेनजी प्रतिष्ठानका अध्यक्ष श्याम अधिकारी लगायतको उपस्थिति थियो ।

तालिम राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक मोहन विश्वकर्माले प्रदान गरेका थिए । लामो समयदेखि महिला सशक्तीकरण, आत्मसम्मान तथा महिला हिंसाविरुद्ध सचेतना अभिवृद्धिका लागि देशका विभिन्न जिल्लामा पुगेर आत्मरक्षात्मक खेलकुद प्रशिक्षण सञ्चालन गर्दै आएको भन्दै आयोगले प्रशिक्षक विश्वकर्मालाई सम्मानसमेत गरेको थियो ।

त्यस्तै, महिला अधिकार तथा सशक्तीकरणको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनम फाउन्डेसनका अध्यक्ष पुनम सुब्बालाई पनि राष्ट्रिय महिला आयोगले सम्मान गरेको थियो ।

समारोहमा वक्ताहरूले महिला हिंसा व्यक्तिमाथिको हिंसा मात्र नभई मानव अधिकार, समानता र सम्मानमाथिको आक्रमण भएको बताए । हिंसामुक्त समाज निर्माणका लागि कानुन र राज्यका संयन्त्रसँगै महिलामा आत्मविश्वास, आत्मसम्मान र आत्मसुरक्षाको क्षमता विकास गर्नुपर्नेमा उनीहरूले जोड दिए।

आत्मरक्षात्मक खेलकुदले महिलालाई जोखिम पहिचान गर्न, संकटको अवस्थामा संयमित ढंगले निर्णय लिन र आफूलाई सुरक्षित राख्न आत्मविश्वास प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमलाई विद्यालय तहदेखि नै विस्तार गर्नुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो ।

प्रशिक्षार्थीलाई प्रदान गरिएको प्रमाणपत्र तालिम पूरा गरेको प्रमाण मात्र नभई उनीहरूमा विकास भएको आत्मविश्वास, साहस र आत्मसुरक्षाप्रतिको चेतनाको प्रतीक भएको वक्ताहरूले बताए।

यस्ता कार्यक्रमलाई एकपटकको गतिविधिमा सीमित नराखी निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै हरेक विद्यालयमा छात्रालाई आत्मरक्षा प्रशिक्षण, लैङ्गिक हिंसाविरुद्ध सचेतना, कानुनी अधिकार र आवश्यक परामर्श उपलब्ध गराउन सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताइएको छ ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय खेलकुद परिषद्का उपसचिव प्रजापति दाहालले गरेका थिए ।

सम्बन्धित खबरहरु