काठमाडौँ। जनसांस्कृतिक महासङ्घ, नेपालले प्रगतिशील साहित्य, संस्कृति, कला र सङ्गीतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ६१ जना अग्रज तथा क्रियाशील स्रष्टा, लेखक, साहित्यकार र कलाकारलाई विभिन्न विधामा सम्मान गरेको छ।
इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा साहित्य, कला, सङ्गीत, चलचित्र, नाटक, जनसांस्कृतिक आन्दोलन तथा सामाजिक योगदानमार्फत् राष्ट्र र समाजका लागि विशिष्ट भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, रामेछाप तथा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रले सहआयोजन गरेका थिए।

कार्यक्रममा जनवादी कला क्षेत्रका अग्रज स्रष्टा जेबी टुहुरे, खुशीराम पाख्रिन र प्रमोद हमाललाई मरणोपरान्त स्रष्टा सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङलाई प्रगतिशील बलिदान स्रष्टा सम्मान अर्पण गरिएको थियो।
वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान–२०८३ बाट निनु चापागाई, मेघराज शर्मा ‘मन्जुल’, रामकृष्ण दुवाल, श्याम तमोट र जीवन शर्मालाई सम्मानित गरिएको थियो।
प्रगतिशील स्रष्टा सम्मान–२०८३ अन्तर्गत गीतकार रामचन्द्र भट्टराई, सङ्गीतकार माधव प्रधान, गायक ध्रुव ज्ञवाली, गायिका सीता आचार्य, सङ्गीतकार चन्दु गोर्खाली, नाटककार भरत बर्बरिक, कवि स्वप्निल स्मृति, नृत्य निर्देशक शान्ति कठायत, कलाकार नारायण शर्मा, वाद्यवादक गेम थापा ‘जटिल’ तथा हास्यकलाकार खड्गबहादुर पुन ‘खबपु’ सम्मानित भएका थिए। नवोदित गायक–गायिका दिपक राई वान्तवा, अनु शर्मा र रफेला महर्जनलाई पनि यही सम्मान प्रदान गरिएको थियो।
यसैगरी लेखक तथा कवि अमर गिरी, चलचित्र ‘बलिदान’का निर्माता श्याम सापकोटा, शेखर अर्याल, इन्द्रेणी सांस्कृतिक समाज (इसास), गीति नाटक ‘सिम्मा’, उद्घोषक समष्टि बुढामगर, ललितकलाकर्मी नारदमणि हार्तम्छाली तथा चलचित्रकर्मी सुवास गजुरेललाई पनि प्रगतिशील स्रष्टा सम्मान–२०८३ प्रदान गरिएको थियो।
जागरण स्रष्टा सम्मान–२०८३ बाट देउडा गायक नन्दकृष्ण जोशी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, मल्लके सुन्दर, गायक तथा सङ्गीतकार शम्भु राई, लोकगायक बद्री पङ्गेनी, पशुपति शर्मा, विष्णु खत्री, प्रकाश सपुत, हास्यकलाकार सुबोध गौतम, सङ्गीतकार बीबी अनुरागी, बुलु मुकारुङ, सुरेश अधिकारी, सन्तोष श्रेष्ठ, गजल गायक थानेश्वर गौतम, चलचित्र निर्देशक नवल खड्का, मनोज पण्डित, बाँसुरीवादक रत्न विक, कलाकार सुन्दर श्रेष्ठ, लेखक दिवाकर भण्डारी, गायक बैकुण्ठ महत, सङ्गीतकार राज सिग्देल, कवि राजभाइ जःकमी, गायिका लोचन भट्टराई, निर्मला घिसिङ, भिडियो निर्देशक पूजा ठकुरी, गायक ऋषि अधिकारी, प्रस्तोता राम अविरल, भिडियो सम्पादक विनोद बम तथा प्रगतिवादी लेखक भानु भण्डारी सम्मानित भएका थिए।
नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानका संस्थापक रमेशबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय इन्चार्ज चिरन पुनले प्रगतिशील र व्यावसायिक सांस्कृतिककर्मीबीच सहकार्य तथा सद्भाव आवश्यक रहेको धारणा राख्दै यस्ता कार्यक्रमले दूरी घटाउने र प्रगतिशील गीत–सङ्गीतको लोकप्रियता बढाउने बताए। उनले सहादत प्राप्त सांस्कृतिककर्मीहरूको योगदानलाई निरन्तर स्मरण गर्नुपर्ने र सांस्कृतिक क्षेत्रको विशिष्टतालाई समग्र सांस्कृतिक आन्दोलनको अभिन्न हिस्साका रूपमा ग्रहण गर्नुपर्ने धारणा व्यक्त गरे।
महासङ्घका केन्द्रीय संयोजक भीम कुमाखीले वर्तमान सांस्कृतिक आन्दोलन विगतका क्रान्ति र परिवर्तनका उपलब्धिको निरन्तरता भएको उल्लेख गर्दै त्यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। कार्यक्रमको सञ्चालन महासङ्घका केन्द्रीय कार्यालय सदस्य तथा प्राज्ञ कुश्मा महरा ‘प्रगति’, बखतबहादुर हमाल ‘सुवर्ण’ र कार्यालय सदस्य रमेश श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा जनकलाकार मोहित श्रेष्ठ, बिहानी विक, धनु ज्ञाङ्मी, कुश्मा महरा ‘प्रगति’, शारदा लिम्बु, केशरी घर्तीमगर ‘एलिना’, कृष्ण विक ‘आँसु’, लक्ष्मण पाख्रिन, देवी बस्नेत, दिपक राई वान्तवा, प्रकाश रन्का तथा प्रगति हिङमाङले ‘गाउँ गाउँबाट उठ’, ‘सिमली छायामा बसी’ र ‘टुटफुट र खण्डित कुरा नगर’ लगायतका कालजयी गीत प्रस्तुत गरेका थिए। नृत्य कलाकार शान्ति कठायत र लक्ष्मी तामाङले नृत्य प्रस्तुति दिएका थिए भने कवि स्वप्निल स्मृतिले ‘१ मिनेट मौनधारण’ शीर्षकको कविता वाचन गरेका थिए।

सम्मानित स्रष्टाका तर्फबाट वरिष्ठ प्रगतिवादी लेखक निनु चापागाईले जनसांस्कृतिक महासङ्घलाई प्रगतिशील सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अभियानका रूपमा निरन्तर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै आयोजकप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमको प्रायोजन मिलिजुली नौमती पञ्चेबाजा समूह, अग्रवाल सेक्युरिटिज नक्सालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन श्रेष्ठ, डल्लुस्थित टिम एक्सयलका सचिन्द्र चित्रकार, हाँडी बिरयानी तथा रैथाने भान्साका सञ्चालक पूजन नेपाल तथा होराइन स्पा एन्ड फेवा रोधी ठमेलका दिनेश लामाले गरेका थिए। कार्यक्रमको सुरुवात मिलिजुली नौमती पञ्चेबाजा समूहको सांगीतिक प्रस्तुतिबाट गरिएको थियो।







