October 17, 2026

अञ्जुको तीज कोसेली ‘एक वर्षमा एकचोटी’

अञ्जुको तीज कोसेली ‘एक वर्षमा एकचोटी’

काठमाडौं । गायिका अञ्जु श्रेष्ठ तीजको अवसरमा हरेक वर्षझैं यसपालि पनि नयाँ सांगीतिक कोसेली लिएर आएकी छन्। उनले ‘एक वर्षमा एकचोटी’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी हुन् ।

तीज पर्वलाई विशेष महत्व दिँदै हरेक वर्ष गीत ल्याउँदै आएकी अञ्जुले यसपटक भने फरक परिस्थितिमा गीत सार्वजनिक गर्नुपरेको बताएकी छन् । गीतको तयारी र छायांकन सम्पन्न भइसकेको अवस्थामा रसुवामा विनाशकारी बाढी आएपछि आफू पनि भावनात्मक रूपमा विचलित भएको उनको भनाइ छ।

देश शोक र संवेदनशील परिस्थितिबाट गुज्रिरहेका बेला गीत सार्वजनिक गर्ने विषयमा अन्योल भए पनि छायांकन तथा अन्य तयारी पूरा भइसकेको र खर्चसमेत भइसकेकाले बाध्यताका बीच गीत बजारमा ल्याइएको उनले बताएकी छन्।

गीतमा अञ्जु श्रेष्ठकै स्वर रहेको छ भने भिडियोमा उनीसँगै डिम्पल नगरकोटी नृत्यमा देखिएकी छन्। गीतको शब्द दीपक शर्मा र निशान साउदले लेखेका हुन् भने संगीत दीपक शर्माकै रहेको छ।

भिडियोको कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीले गरेका छन् । गीतकी निर्माता गंगामाया श्रेष्ठ हुन् । छायांकन दिनेश पराजुली, रंग संयोजन तथा सम्पादन मनोज कार्कीले गरेका छन् । श्रृंगार संगीता मिजारको रहेको छ। त्यस्तै गीतको मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोगीले गरेका छन्।

गायिका अञ्जुले देशको संवेदनशील परिस्थितिप्रति आफू पनि उत्तिकै संवेदनशील रहेको बताउँदै बाध्यता र परिस्थितिका कारण गीत सार्वजनिक गर्नुपरेको उल्लेख गरेकी छन् । उनले आफ्नो नयाँ सांगीतिक प्रयासलाई साथ र माया दिन पनि दर्शक तथा श्रोतासँग आग्रह गरेकी छन्।

सम्बन्धित खबरहरु

भर्खरै