October 15, 2026

‘पार्वती’को पहिलो दिनको कमाइ बाढीपीडितलाई सहयोग

‘पार्वती’को पहिलो दिनको कमाइ बाढीपीडितलाई सहयोग

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पार्वती’को पहिलो दिनको कमाइ बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ ।

चलचित्र प्रदर्शनअघि नै निर्माण टिमले पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको थियो । सोही प्रतिबद्धता पूरा गर्दै निर्माण टिमले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।

‘पार्वती’ले प्रदर्शनको पहिलो दिन २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। उक्त आम्दानीबाट निर्माताको हिस्सामा आएको रकम राहत कोषमा प्रदान गरिएको निर्माण टिमले जनाएको छ।

सिनेमाघरसम्म पुगेर चलचित्र हेर्ने दर्शकप्रति आभार व्यक्त गर्दै निर्माण टिमले थप सहयोगको घोषणा पनि गरेको छ। अब चलचित्रले देश तथा विदेशमा प्रदर्शन अवधिभर गर्ने कुल ग्रस आम्दानीको थप ५ प्रतिशत रकम बाढीपीडितको राहतका लागि उपलब्ध गराइने जनाइएको छ।

निर्माण टिमले ‘पार्वती’लाई केवल मनोरञ्जनको चलचित्र नभई समाजको भोगाइ, संघर्ष, हिम्मत र आशाको कथा भएको बताएको छ।

हरिहर अधिकारीले निर्माण गरेको चलचित्रमा नीता ढुंगाना र अशोक दर्जी मुख्य भूमिकामा रहेका छन्।

सम्बन्धित खबरहरु

भर्खरै