काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकको पहिलो दिन प्रतिवेदन प्रस्तुत गरी सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको हो।
अध्यक्ष ओलीको प्रतिवेदनमाथि मंगलबारदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यतालिका छ। छलफलमा सहभागी प्रत्येक सदस्य तथा पदाधिकारीलाई आफ्नो विचार राख्न तीन मिनेटको समय तोकिएको एमाले नेता शेरधन राईले जानकारी दिएका छन्।
तीन दिनभित्र बैठक सम्पन्न गर्ने गरी कार्यसूची तय गरिएको छ। बैठकमा राजनीतिक प्रतिवेदनसँगै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुने छ। उक्त प्रतिवेदन यसअघि एमाले सचिवालयले स्वीकार गरी केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको थियो।
बैठकले पार्टीको आगामी संगठनात्मक संरचनासँग सम्बन्धित विषयमा समेत निर्णय गर्नेछ। केन्द्रीय सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनलगायतका विषय कार्यसूचीमा छन्।
यसअघि एमालेभित्र निर्वाचन परिणामपछि पार्टी पुनर्गठन र नेतृत्वसम्बन्धी बहस चल्दै आएको थियो। पुनर्गठन कार्यदलले विभिन्न सुझाव समेटेर प्रतिवेदन तयार पारेको थियो।







