काठमाडौं । नेपाली क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा प्रभावशाली प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा गरेको छ। फाइनलमा युएईलाई ४४ रनले पराजित गरेसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपका लागि समेत स्थान पक्का गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको चुनौती पछ्याएको युएई ४९.२ ओभरमा २६८ रनमै समेटियो। युएईका राहुल चोपडाले शतकीय पारी खेले पनि उनको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन। उनले अविजित १०० रन बनाए।
नेपालका लागि बलिङमा करण केसीले तीन विकेट लिए। ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले एक–एक विकेट हात पारे।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालको ठूलो स्कोरमा ओपनर आसिफ शेखको शतकीय योगदान महत्वपूर्ण रह्यो। १०६ बल सामना गरेका आसिफले ८ चौका र ४ छक्कासहित १०२ रन बनाए।
गुलशन झाले ५२ रन जोड्दा अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन बनाए। दीपेन्द्र सिंह ऐरीले १८ रन र बसिर अहमदले अविजित १५ रनको योगदान दिए।
युएईका इबरार अहमदले चार विकेट लिए भने खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए।
योसँगै नेपालले एसीसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको छ। पहिलो संस्करणमै नेपालले युएईलाई सात विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो। सन् २०२४ मा भने युएईले आयोजक ओमानलाई हराउँदै उपाधि जितेको थियो।
यसपटकको उपाधिसँगै नेपालको अर्को महत्वपूर्ण उपलब्धि एसिया कपमा छनोट हुनु हो। उपाधि यात्राले नेपाली टोलीलाई क्षेत्रीय क्रिकेटको ठूलो मञ्चतर्फ थप एक कदम अघि बढाएको छ।


