काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै शानदार जित निकालेको छ ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली स्पीन आक्रमणसामु टिक्न सकेन । ओमान २८.१ ओभरमा ६० रनमै समेटिएपछि नेपालले सहज जित निकालेको हो ।
ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाउँदा जितेन रामानन्दीले १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको जितमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिएपछि ओमानको ब्याटिङ धराशायी बनेको थियो ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो । सुरुवातमै दबाबमा परेको नेपाल ३६ रनमा ४ विकेट गुमाएर संकटमा थियो ।
त्यसपछि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ सम्हाले । दीपेन्द्रले ५१ रन बनाए भने बसिरले ४७ रन जोडे । देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका जय ओडेडराले ३ तथा हस्नैन शाहले ३ विकेट लिए पनि नेपालको बलिङसामु ओमानको ब्याटिङ टिक्न सकेन ।
अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग फाइनल खेल्नेछ । फाइनल जिते नेपालले एसिया कपमा स्थान बनाउनेछ । सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनोट भएको छ।


