काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीले नेपाल लाइब्रेरी फाउन्डेसनसँगको सहकार्यमा ‘पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व’ विषयक विचार–गोष्ठी तथा ‘शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन स्मारिका–२०८२’ को लोकार्पण कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तकालय मानव सभ्यता, संस्कृति, श्रम र सामूहिक ज्ञानका लागि अत्यावश्यक भएको बताए । उनले अहिले पठनसंस्कृतिमा डिजिटल माध्यमको प्रभाव बढिरहेकोले छापा र डिजिटल दुवै माध्यमसँग पुस्तकालय र पठनसंस्कृतिलाई जोडेर अघि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

नेपाल लाइब्रेरी फाउन्डेसनका कार्यकारी निर्देशक यज्ञराज भट्टले ‘पठनसंस्कृति विकासमा सामाजिक दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि लघुकथा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठले विश्लेषणात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पुस्तकालयको महत्व र पठनसंस्कृति व्यक्तिगत आवश्यकताअनुसार हुने विषयमा धारणा राखे । उनले नेपाली भाषा र लेखन प्रणालीमा अनुसन्धानले एकरूपता ल्याउन थालेको उल्लेख गरे ।
सभाध्यक्ष तथा प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरीले छापामाध्यममा पठनसंस्कृति घट्दै गएको र डिजिटल माध्यमको प्रभाव बढिरहेको बताए । उनले दुवै माध्यमको पठनसंस्कृतिमा पाठकलाई आकर्षित गर्ने आवश्यकतालाई जोड दिए ।
नेपाल लाइब्रेरी एसोसिएसनका अध्यक्ष पुष्पराज सुवेदीले स्मारिका–२०८२ सम्बन्धी टिप्पणी गरे । नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपानेले पुस्तकालय ज्ञान र अध्ययनको स्रोत भएकाले घर–घरमा पुर्याउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा फाउन्डेसनका सल्लाहकार केशवप्रसाद पराजुली, भगवानचन्द्र ज्ञवाली, विक्रममणि त्रिपाठी, अच्युतप्रसाद पौडेल चिन्तन, दुर्योधन बस्नेत, शान्ता काफ्ले, सिर्जना सरोबर, प्रेमराज अधिकारी लगायतले प्रश्न र जिज्ञासा राखेका थिए ।
फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठले कार्यक्रमबारे जानकारी दिएका थिए सचिव शेखर अर्यालले उद्घोषणा गरेका थिए । कार्यक्रममा प्राज्ञ, लेखक, पुस्तकालयकर्मी, शिक्षक, विद्यार्थी र जिज्ञासुहरूको उपस्थिति रहेको थियो ।













