सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘विद्यालयमा कुलपति’ तथा कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कुलपति राईले कार्यक्रममा भाषिक विविधताको महत्व र मातृभाषा संरक्षणको आवश्यकता औंल्याउँदै, भने, ‘सबैले आआफ्नो मातृभाषामा कविता लेख्न र सिर्जना गर्नुपर्छ। मातृभाषा जोगिए मात्र देश सांस्कृतिक रूपमा समृद्ध हुन्छ ।’
महाकुलुङ क्षेत्रमा कुलुङ भाषाको बहुल्यता रहेको हुँदा, विद्यार्थी र साहित्य सर्जकलाई यस भाषामा सिर्जना गर्न प्रेरित गरिएको थियो।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञिक संरचना र ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै, नेपाली, अंग्रेजी र आफ्नै मातृभाषामा कविता लेख्न विद्यार्थीलाई सुझाएका थिए । उनले भने, ‘जसले मातृभाषामा कलम चलाउँछ, उसको सिर्जना अझ अब्बल हुन्छ र लेखकलाई चिन्न सक्ने हुन्छ ।’

महाकुलुङ गाउँपालिका बुङका अध्यक्ष सूर्यबहादुर कुलुङले यस किसिमका कार्यक्रमले भाषा, साहित्य, संस्कृति र कला क्षेत्रको विकासमा प्रेरणा दिने बताए । उनले भने, ‘महाकुलुङ प्रज्ञा–प्रतिष्ठान स्थापना गरी स्थानीय मातृभाषा र साहित्यको विकासमा लाग्ने योजना छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक राजमान राईले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूले ‘हाम्रो कुलुङः मेरो कुलुङ’ बोलको पालिका गानसहित नृत्य र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली, अंग्रेजी र कुलुङ भाषामा कविता वाचन भएको थियो। कवि तिलक बाहिङ राईले ‘लाली गुँरास’, कवि मनुहाङ किरातीले ‘नेपालीको चिनारी’ प्रस्तुत गरे। कक्षा–७ की छात्रा अमृता कुलुङले नेपालीमा ‘ज्ञानको ज्योति’, दिया कुलुङ, सुस्तिका कुलुङ र वर्षा राईले अंग्रेजीमा कविता वाचन गरेका थिए । साथै, जेनी कुलुङले नेपाली र कुलुङ भाषामा र प्रिन्सा कुलुङले कुलुङ भाषामा कविता प्रस्तुत गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूलाई मातृभाषा र साहित्यमा सिर्जनशीलता अभिवृद्धि गर्ने अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन् ।













