काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले शेर्पा भाषाको पत्रिका ‘चोमोलुङ्मा’ प्रकाशित गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानको साहित्य मातृभाषा विभागले हालसम्म ४६ वटा मातृभाषामध्ये ११ वटा मातृभाषाका पत्रपत्रिका प्रकाशित गरिसकेको छ। त्यसै क्रममा शेर्पा भाषामा पनि नयाँ पत्रिका प्रकाशनको तयारी गरिएको हो।
साहित्य मातृभाषा विभागका प्रमुख तथा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य राजन मुकारुङको अध्यक्षतामा २०८२ साल कार्तिक १२ गते बसेको बैठकले ‘चोमोलुङ्मा’ पत्रिका प्रकाशन गर्ने निर्णय गरेको हो।
बैठकपछि मुकारुङले जनजातिहरूको मातृभाषा, साहित्य, संस्कृति, इतिहास, सभ्यता र थातथलोमाथि भइरहेको अतिक्रमणबारे चिन्ता व्यक्त गर्दै भने,’शेर्पा जातिको अस्तित्व र पहिचान जोगाउन तथा शेर्पा भाषा र साहित्यको संरक्षण गर्न ‘चोमोलुङ्मा’ प्रकाशन गर्न लागिएको हो।’
‘चोमोलुङ्मा’ पत्रिकाको प्रधान सम्पादकमा प्राज्ञ राजन मुकारुङ,सम्पादक मण्डलमा ङवाङ शेर्पा, फुरी शेर्पा, डोल्मा शेर्पा र पासाङ टासी शेर्पा, र कार्यकारी सम्पादकमा दावा शेर्पा (डी. एन.) रहने निर्णय गरिएको छ।
पत्रिका ग्याल्पो ल्होसारको अवसरमा २०८२ साल फागुन ६ गतेभित्र प्रकाशित हुने बताइएको छ।













