September 23, 2026

टुक्का सर्जक भेटघाट तथा ‘काव्य कलश’ टुक्का संग्रहको लोकार्पण

टुक्का सर्जक भेटघाट तथा ‘काव्य कलश’ टुक्का संग्रहको लोकार्पण

काठमाडौं । टुक्का कविता विधाको प्रवद्र्धन तथा सर्जकबीचको अन्तक्र्रियाका लागि आयोजित  टुक्का सर्जक भेटघाट तथा टुक्का संग्रह ‘काव्य कलश’ को लोकार्पण कार्यक्रम अनामनगरस्थित डालो रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी लगायत विशिष्ट अतिथिहरूले सर्जक अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का संग्रह ‘काव्य कलश’ को संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

प्रमुख अतिथि डा. सुवेदीले छोटो काव्यिक संरचनामा जीवनका विविध सन्देश दिन सक्ने टुक्का कविता नेपाली साहित्यमा लोकप्रिय विधा बन्दै गएको उल्लेख गरे । उनले परम्परागत शैलीमा मात्र सीमित नरहेर प्रयोगात्मक साहित्यको विकासमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञसभा सदस्य चेतनाथ धमलाले टुक्का कविता नेपाली भाषाको मौलिक, लयात्मक र प्रभावशाली विधा भएको बताए ।

अर्का विशिष्ट अतिथि महाकाव्यकार कलानिधि दाहालले छोटो समयमै सिर्जनात्मक अभिव्यक्तिको राम्रो माध्यमको रूपमा टुक्काको चर्चा गरे ।
राधेश्याम लेकालीले टुक्कालाई उत्कृष्ट र लोकप्रिय विधा मानेर यसको संरक्षण र प्रवद्र्धनमा साहित्यिक संस्थाहरूले भूमिका खेल्नुपर्ने धारणा राखे ।

सर्जक अमृता रामदामद्वारा लेखिएको ‘काव्य कलश’ को समीक्षा टुक्का साहित्य समाजका सल्लाहकार रामशरण न्यौपानेले गरेका थिए । मुक्तक अभियन्ता सुनिल अधिकारीले टुक्का कविता मुक्तकसँग मिल्दोजुल्दो भए पनि फरक संरचना भएको बताउँदै यसले नेपाली साहित्यमा छुट्टै पहिचान बनाउँदै गएको चर्चा गरे ।

कार्यक्रममा जनार्दन अधिकारी ‘धड्कन’, अरुणबहादुर खत्री ‘नदी’ लगायतका विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो। होमप्रसाद नेउपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने शोभा आचार्य गौतमले टुक्का साहित्य समाजको गतिविधिबारे जानकारी दिए ।

कार्यक्रममा दर्जनौं सर्जकहरूले आ–आफ्ना टुक्का कविताहरू वाचन गर्नुभयो, जसमा ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, डम्बर थामी ‘अनुपम’, रचना मोक्तान ‘यात्री’, प्रमोद नेपाल, दीपा गुरुङ ‘समभाव’ लगायत सहभागी थिए।

कार्यक्रमको समापनमा टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले टुक्काको सैद्धान्तिक पक्ष र लेखन शिल्पबारे प्रकाश पार्दै यस विधाले छोटो अवधिमा नै उल्लेखनीय स्थान बनाउन सफल भएको बताए ।
कार्यक्रमको सञ्चालन रामप्रसाद पुरीले गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै