September 20, 2026

“स्वार्थी संसार” गीत सार्वजनिक

“स्वार्थी संसार” गीत सार्वजनिक

काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत सिर्जना एवं मधुर आवाज धनी स्वरुपराज आचार्यको स्वर रहेको छ ।

लामो समयपछिको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको यस मार्फत पुनरागमन हुनु साङ्गीतिक क्षेत्रका लागि खुशीको कुरा हो । उक्त ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्ममार्फत अपलोड गरिएको छ ।

वास्तविक घटनामा आधारित एवं बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना बेहोरेको भाव र सन्देश यस गीतमा रहेको छ । आजभोली मानिसहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछी कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ । गीतकार नारायण खतिवडाको यसभन्दा पहिला पनि दर्जनौँ गीतहरु बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति संग्रहमा एकसय नौ वटा गीतहरू समावेश छन् भने स्ववदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पुर्‍याइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौँ गीत बजारमा रहेका छन् ।

गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा सरकारी सेवामा कार्यरत छन् । सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, वियोग तथा राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना “स्वार्थी संसार” पनि एउटा उदाहरणीय गीत बनेको छ । खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रीपक्षीय संयोग मिलेको “स्वार्थी संसार गीतले संगीतको दुनियाँमा नौलो छाप छोड्ने अपेक्षा सर्जकको छ ।

सम्बन्धित खबरहरु