काठमाडौं । रसुवा, नुवाकोट धादिङलगायतका बाढीपहिरो प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को समयमा पीडित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको बताए । उनले संकटको घडीमा कांग्रेस बाढीपहिरो प्रभावित नागरिकको साथमा रहेको उल्लेख गरे ।
पौडेलले बाढीपहिरोका कारण विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विशेषगरी सुरुङमार्गमा फसेका नागरिकको उद्धारलाई तीव्रता दिन उनले आग्रह गरे ।
त्यस्तै, त्रिशूली र भोटेकोशी आसपासका प्रभावितको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन उनले माग गरेका छन् । राहत वितरण पारदर्शी बनाउन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सरकारलाई आग्रह गरिएको छ ।
कांग्रेसले विपद् व्यवस्थापन, बेपत्ताको खोजी तथा विस्थापितको दीर्घकालीन पुनर्स्थापनामा आवश्यक सहयोग गर्न पार्टी तयार रहेको जनाएको छ। पार्टीले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सहयोगका लागि आफ्ना विभिन्न संरचनासमेत परिचालन गरेको जनाएको छ ।




