काठमाडौँ । अमेरिकामा बसोबास गर्दै नेपाली सङ्गीतमा निरन्तर क्रियाशील गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको सङ्गीतमा तयार गरिएको यस गीतको सङ्गीत संयोजन संजय हमालले गरेका छन् ।
गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ ।
म्युजिक भिडियोलाई शिव ढकालले छायाँङ्कन र विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य रहेको छ ।
यस गीतको म्युजिक भिडियो नेपाली सङ्गीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको सङ्गीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।













