– टेक नेपाल
मेरी आमाले पकाएको सेलरोटीले
मलाई सम्झाइरहन्छ
आफ्नो घर, आफ्नो गाउँ
विश्वमा जुन कुनामा भएपनि
मेरो जन्मभूमि नेपाल फर्कन
मलाई कुनै बन्धनले रोक्दैन
किनकि आमाले पकाएको
सेलरोटीको मिठो स्वादले
मलाई सम्झाइरहन्छ ।
अकबरे खुर्सानीको अचार
अनि बारीमा काम गर्दै गर्दा
मेरी आमाले मकै, भटमास मोही
र गुन्द्रुक साँधेर ल्याइदिएको
बारीको डिलमा बसेर खाँदाको
मलाई सम्झना आइरहन्छ
कहिले कोदोको रोटी कहिले चाम्रे र
कहिले गोलभेडाको अचार
टक्क मेरो जिब्रोमा झुण्डिएको छ
त्यही स्वादले त नेपाल फर्किऊँ, फर्किऊँ लाग्छ
मेरी आमाले पकाएको सेलरोटीको
त्यो मीठो स्वादले झस्काइरहन्छ
पिज्जा, पास्ता, बर्गर, स्ट्रीट फुड्स
धेरै पटक खाएको छु,
तर खोई किनकिन
त्यो पिज्जा, पास्ता, बर्गर, स्ट्रीट फुड्समा
दशैंमा काटेको खसिको मासु पक्कु
आमाको हातले बनाएको
स्वाद नै भेट्दिनँ ।
जनै पूर्णिमाको दिन खाएको
क्वाँटीको झोलले
मेरो नशा नशामा दिएको ताकत
मेरी आमाले बनाएको मासको फुरौला
खाना पाउँदा
घरमुनि काभ्रोको रुखमा चढेर फुर्किदैँ गर्दा
लडेर टाउकोमा फुरौला उठेको याद आउँछ ।
हिमालको काखमा
फुलेको यार्सा गुम्बाको याद आउँछ
याद आउँछ पहाडमा लालीगुराँससँग रमाएका
डाँफे, मुनाल नाँचेको
अनि याद आउँछ प्रियसी हाँसेको
तराईका फाँटहरूमा सजिएकी कमलको
फूल जस्तै चम्किने मेरी मायाको याद आउँछ
हो याद आइदिन्छ कला र संस्कृतिले
सजिएको नेपालको
दशैं, तिहार, माघे संक्रान्तिमा
आमाले पकाएको तरुल सेलरोटीको याद आइदिन्छ ।
दिदीबहिनीले टिका लगाएर दिएको
संसारकै महँगो खाना खाए पनि
आमाले बनाएको सेलरोटी
पल्लो घरको कान्छीले बनाएको तुम्बाले
मनलाई नेपाल नै डोर्याउँछ
पसिना बगाउँछु नेपालै गएर
बस्नेछु बुद्ध जस्तै शान्त भएर













