काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषबाट संकलित बजेट स्वास्थ्य मन्त्रालयमै खर्च हुनुपर्ने माग गर्दै अर्थ मन्त्रालयलाई दबाब दिनुपर्ने स्पष्ट पारेकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गौतमले विभिन्न देशका अनुभव र स्वदेशी विज्ञहरूको सुझावलाई आधार बनाएर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कर कोषको सम्पूर्ण बजेट पाउनुपर्ने बताइन्। उनले बजेट माग गर्दा प्रमाण र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिँदै मातहतका निकायलाई जिम्मेवार भएर प्रस्तुत हुन निर्देशन दिइन्।
मन्त्री गौतमले विशेषगरी धूम्रपानजन्य वस्तुबाट उठेको रकम समेत स्वास्थ्य क्षेत्रमा पूर्ण रूपमा नआएको उल्लेख गर्दै भनेकी छन्, “अब सरकार र अर्थ मन्त्रालयलाई दबाब दिनुपर्छ, तर इभिडेन्सको आधारमा, विश्लेषण गरेर प्रमाणसहित बजेट माग गर्नुपर्छ, केवल पैसा मागेर मात्र हुँदैन।”
उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, तिनको समाधान र आवश्यक बजेटको स्पष्ट आधार प्रस्तुत गरेमा मात्रै सरकारले स्रोत व्यवस्थापन गर्ने स्पष्ट पारिन्। साथै, देशको समग्र आर्थिक अवस्था र चुनौतीलाई ध्यानमा राखेर जिम्मेवार बजेट माग गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री गौतमले नागरिक र विज्ञको रूपमा तथ्य र प्रमाणका आधारमा सरकारलाई मार्गदर्शन गर्नु, र गलत निर्णय भएमा त्यसलाई सच्याउन सुझाव दिनु आफ्नो दायित्व भएको पनि स्पष्ट पारेकी छन्।












