काठमाडौं । दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि विश्व मञ्चमा समेत नेपालको पक्षमा आवाज उठाउने जनाएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको हो।
भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली तथा र्यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका थिए। उनले आगामी दिनमा विपद् प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण नेपाल सरकारको प्रमुख प्राथमिकता रहेको पनि बताएका थिए।
जवाफमा कोरियाली परराष्ट्रमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माणमा सघाउन आफ्नो सरकार पूर्ण रूपमा तयार रहेको बताएका छन्। जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुकले भोगिरहेको क्षतिका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन नेपाल र दक्षिण कोरियाले सहकार्य गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्।
दुवै देशले लामो समयदेखिको मित्रता र सहकार्यलाई थप मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



