काठमाडौं । रसुवामा स्वास्थ्य जटिलता देखिएपछि एक सुत्केरी महिला र उनका नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङले स्थानीय स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन्। तर, सुत्केरी आमा र नवजात शिशु दुवैको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरिएको हो।
उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि पुर्याइएको छ।
गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ। सडकमार्गबाट तत्काल सुविधासम्पन्न अस्पताल पुर्याउन सम्भव नभएपछि आमा र शिशुको ज्यान बचाउन हवाई उद्धारको सहारा लिनुपरेको जनाइएको छ।



