गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बूढीगण्डकी नदी र थेराङ खोलामा आएको बाढीले वितण्डा मच्चायो छ । बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ।
स्थानीयका अनुसार थेराङ खोलामा आएको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको हो। त्यसैगरी बाढीका कारण बूढीगण्डकी नदीको बहाव बढ्दा नाम्रुङभन्दा तल जङ्गल क्षेत्रमा रहेको पुल पनि बगेको छ। दुवै पुल बगेपछि स्थानीयको आवतजावत पूर्णरूपमा प्रभावित भएको छ।
बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजना पनि बगाएको छ। हालै निर्माण सम्पन्न भएको १०० किलोवाटको आयोजना र यसअघि सञ्चालनमा रहेको २२ किलोवाटको आयोजना बाढीले क्षतिग्रस्त बनाएको हो।
विद्युत् सेवा अवरुद्ध भएपछि गाउँमा बत्ती, सञ्चारलगायत विद्युत्बाट सञ्चालन हुने सेवा प्रभावित भएका छन् । पुल बगेपछि मनास्लु क्षेत्रको पर्यटकीय आवागमनमा समेत असर परेको छ। लार्केपासका लागि गएका पर्यटकसमेत बाटोमै रोकिएका छन् ।
यसैबीच, बाढी र पहिरोका कारण स्थानीय चार परिवारका घर बगेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बाढीले बगाएको हो ।



