November 3, 2026

नेपालको प्रतिनिधित्व गर्दै ६ सदस्यीय उसु तथा आर्चरी टोली चीन प्रस्थान

नेपालको प्रतिनिधित्व गर्दै ६ सदस्यीय उसु तथा आर्चरी टोली चीन प्रस्थान

काठमाडौं । नेपाल र मित्र राष्ट्र चीन बीच खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना हुने ‘चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान’ कार्यक्रममा सहभागी हुन ६ सदस्यीय नेपाली टोली चीनको कुनमिङ प्रस्थान गरेको छ ।

मार्सल आर्ट तथा परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रममा सहभागी टोलीमा राजिव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहेका छन् । टोलीले कुनमिङमा चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्ट तथा प्राचीन धनुर्विद्याका विविध पक्षमा प्रशिक्षण लिनेछन् ।

काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघका अध्यक्ष तथा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेक विक्रम शाहका अनुसार भ्रमण मुख्यतया ‘स्किल ट्रान्सफर’ र प्रशिक्षणमा केन्द्रित रहनेछ । एक हप्तासम्म चल्ने यस सत्रमा नेपाली सहभागीहरूले चिनियाँ मार्सल आर्टको शैली र परम्परागत आर्चरीका प्राविधिक पक्षहरू सिक्नेछन् । साथै नेपालको मौलिक खेल, संस्कृति र पहिचानलाई चिनियाँ खेल समुदायमाझ प्रस्तुत गर्नेछन् । अध्यक्ष शाहले भने हामीले विगतमा नेपालमा आयोजना गरेको सेमिनारले जुन उत्साह जगाएको थियो, त्यसैलाई थप व्यावसायिक बनाउन यो भ्रमण फलदायी हुनेछ ।’

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले चीनमा हुने प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गरी आगामी दिनमा नेपालमा मार्सल आर्ट र परम्परागत आर्चरीको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन मद्दत गर्ने बताएका छन् ।

चीन प्रस्थान गर्नुअघि काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघका अध्यक्षले टोलीलाई विशेष कार्यक्रमका बीच बिदाइ गरेका थिए । बिदाइका क्रममा उनले टोलीलाई सफलतापूर्वक प्रशिक्षण पुरा गरी राष्ट्रको गौरव बढाउन शुभकामना दिएका थिए ।

काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघ नेपाल र मार्सल आर्ट अर्गनाइजेसन नेपालको संयुक्त पहलमा चीन भ्रमण तय भएको हो । दुई देशका संस्थाहरूबीचको आपसी समझदारी स्वरूप यसपटक नेपाली टोलीलाई चीनको कुनमिङ जेन्जी ट्रेडिशनल अर्गनाइजेसनले प्रशिक्षणका लागि आमन्त्रण गरेको हो ।

सम्बन्धित खबरहरु

भर्खरै