काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ ले भारतसँग हारेको हो।
खेलको सुरुवाती चरणदेखि नै भारतले पकड बनाएको थियो। पहिलो हाफमा भारतले ३१–१७ को अग्रता लिएको थियो भने दोस्रो हाफमा १७–७ को स्कोर निकाल्दै जित पक्का गर्यो।
भारतसँगको हारसँगै नेपालले कास्य पदकमा चित्त बुझाएको छ। गत संस्करणको १९औँ एसियन गेम्समा पनि नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भएर कास्यमै रोकिएको थियो।
समूह चरणमा नेपालले थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो।
जारी एसियन गेम्समा महिला कबड्डीको कास्य नेपालका लागि दोस्रो पदक हो। यसअघि पुरुष करातेको ८४ केजी कुमितेमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए।







