काठमाडौं । यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक खेलअगावै आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।
सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफनो पहिलो खेलमा युइईले दिएको १ सय १५ रनको लक्ष्य पूरा गर्दै नेपालले १० राष्ट्र सहभागी हुने छनोटमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएको छ । यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् ।
त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए । नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।


