November 3, 2026

श्रीलंकामाथि नेपालको सानदार जित,सेमिफाइनल भारतसँग भिड्ने

श्रीलंकामाथि नेपालको सानदार जित,सेमिफाइनल भारतसँग भिड्ने

काठमाडौं । नेपाल समूह विजेताका रुपमा घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै नेपाल समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

नेपाललाई सानदार जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन् भने सावित्रा भण्डारी, सविता रानामगर, अमिसा कार्की र रश्मीकुमारी घिसिङले समान १ गोल गरे। नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल गरेको थियो।

आठौं मिनेटमा सबिताको गोलमा नेपालले सुरुआती अग्रता लियो। जारी प्रतियोगितामा पहिलो खेल खेलिरहेकी सावित्राले ११औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन्। उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन्। यो नेपालका लागि सावित्राको ५४औं गोल हो।

१३औं मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–०को अवस्थामा ल्याइन्। ३६औं मिनेटमा रेखाले नै गोल गरेपछि पहिलो हाफमा नेपालले ४–० को अग्रता लियो। यो गोलसँगै रेखाले आफूलाई गोल्डेन बुटको दाबेदारीमा अगाडि राखेकी छिन्। उनले भुटानकी देकी लाजोमसँगै समान ७ गोल गरेकी छिन्।

दोस्रो हाफको सुरुआतमै अमिसाले गोल गर्दै नेपाललाई ५–०को अग्रता दिलाइन्। इन्जूरी समयको चौथो मिनेटमा रश्मीले गोल गरेपछि नेपालले ६–० को जित निकाल्दै समूह विजेता बन्यो।

योसँगै नेपालले सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै