September 22, 2026

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित दर्ता गरेको छ। जनकपुरले मंगलबार त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पाँच खेलमा दुई अंक जोड्न सफल भएको हो। पराजित चितवनले समान खेलबाट चार अंक जोडेको छ।

चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। जनकपुरलाई जित दिलाउन माज सदाकत र अनिकुमार साहले अर्धशतक प्रहार गरे। सदाकतले ३० बलमा ६ चौका र ४ छक्का सहित ६३ रन जोडे भने अनिलले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१ रनको योगदान गरे। आदित्य महताले १८ अविजित रन र जान निकोल लोफ्टी इटोनले ११ रन बनाए। दोस्रो विकेटका लागि सदाकत र अनिलले ७९ रन साझेदारी गरे।

चितवनका लागि सोहल तनवीर, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले एक–एक विकेट झारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। चितवनका डेविड मलानले ५४ बलमा पाँच छक्का र चार चौकासहित ८० रन बनाउँदै शीर्ष योगदान गरे। अर्जुन साउदले ३९ बलमा ५२ रन र कप्तान कुशल मल्लले अविजित ३० रन जोडे। मलान र अर्जुनले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए।

जनकपुरका लागि लोफ्टी इटोन, अनिल साह, माज सदाकत र आदित्य महताले समान १–१ विकेट लिए।

 

सम्बन्धित खबरहरु

भर्खरै