काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा विराटनगर किङ्ग्सले लगातार तेस्रो जित हात पारेको छ। सोमबार भएको खेलमा विराटनगरले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै जित सुनिश्चित गरेको हो।
१३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमै अलआउट भयो। विराटनगरको जितमा कप्तान सन्दीप लामिछानेले चार विकेट लिएर महत्वपूर्ण भूमिका खेले। उनले चार ओभरमा मात्र ११ रन खर्च्दै चार विकेट लिएका थिए। सूर्य तामाङले २ विकेट लिए भने सुभम रन्जने र मार्सेन्ड डिलाङ्गाले १–१ विकेट लिए।
जनकपुरका लागि यान निकाले लफ्टी इट्टनले सर्वाधिक ४१ रन बनाए। लाहिरु मिलान्थाले २३ रन बनाउँदै योगदान दिएका थिए भने आसिफ शेख २० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यसअघि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। शुभम रन्जनेले ३७ रन, बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रनको योगदान दिए। नारायण जोशी २ रनमा आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन्। कप्तान सन्दीप लामिछाने र प्रतिश जिसी क्रमशः ० र २ रनमा नटआउट रहे।
जनकपुर बोल्ट्सको यो लगातार दोस्रो हार हो। अघिल्लो खेलमा पनि उनीहरू काठमान्डु गोर्खाजसँग पराजित भएका थिए। अघिल्लो सिजनको ट्रफी विजेता जनकपुर यसपटक खराब सुरुवात गर्न बाध्य भएको छ।











