काठमाडौं । नेपाल र जापानले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा प्रवेश गरेका छन्। बिहीबार समूह ‘बी’ अन्तर्गतको खेलमा जापानले कुवेतलाई पराजित गरेपछि जापानसँगै नेपाल पनि एक खेल बाँकी रहँदै सुपर सिक्समा पुग्न सफल भएको हो।
नेपालसँग यसअघि नै पराजित भइसकेको कुवेत आजको हारपछि समूह चरणबाटै बाहिरिएको छ।
अब समूह ‘बी’को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान आमनेसामने हुँदैछन्। उक्त खेल अब अघोषित रूपमा ‘सुपर सिक्स’को खेलजस्तै बनेको छ, किनभने यस खेलको विजेता टोलीले सुपर सिक्स चरणमा २ अंक लिएर सुरुवात गर्नेछ।
नियम अनुसार, समूह चरणमा आफूले हराएको टोली पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले सो खेलबाट २ अंक बोक्नेछ र पुनः त्यस टोलीसँग खेल्न नपर्नेछ। त्यसैले नेपाल र जापानबीचको खेल अत्यन्त महत्वपूर्ण बनेको छ।
यसअघि बिहीबार समूह ‘ए’को अर्को खेलमा कतारले मलेसियालाई हराएको छ। यो समूहमा यूएई पनि रहेको छ, जसले कतारलाई हराइसकेको छ।
जापानको सनसनीपूर्ण जित
उदीयमान क्रिकेट राष्ट्र जापानले बिहीबारको खेलमा कुवेतलाई हराउँदै ऐतिहासिक जित दर्ता गरेको हो।
कुवेतले दिएको १७८ रनको लक्ष्य जापानले १९ ओभर ३ बलमै पूरा गर्यो।
जापानका लागि इसाम रहमानले ३९ बलमा ६४ रनको धुवाँधार इनिङ्स खेले भने सबारिश रविचन्द्रनले ३९ रन, कप्तान केन्डल काडोवाकी फ्लेमिङले २८ रन र इब्राहिम ताकाहासीले २६ रन बनाए।
जापानका कप्तानले सुरुवाती ओभरमै आक्रामक ब्याटिङ गर्दै टीमलाई बलियो सुरुवात दिएका थिए, जबकि मिडल ओभरमा रहमानले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई जितसम्म पुर्याए।











