काठमाडौँ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउने व्यवस्था यसपटक सम्भव बनाउन सरकार लागिपरेको बताएका छन्।
निर्वाचन आयोगमा बिहीबार भएको छलफलमा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतले यसअघि नै दिएको आदेशलाई कार्यान्वयन गर्दै विदेशमा रहेका नेपालीलाई समानुपातिक निर्वाचन प्रणालीमार्फत मतदानको अधिकार दिलाउने तयारी भइरहेको बताए।
“विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने माग बढेको छ। सर्वोच्चले आदेश दिएको पनि धेरै भयो। यसलाई सम्भव बनाउनैपर्छ,” मन्त्री अर्यालले भने, “सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो। कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ–जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हुनेछ।”
उनले मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।










