काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।
आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए ।
‘राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु’, उनले भने, ‘एक निकायले अर्काे निकायलाई दोषारोपण गरेर नभई समन्वयसहित सहकार्य गर्न जरुरी छ ।’ गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरे ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन उत्साहजनक भएको बताए ।
‘अघिल्लो आवको तुलनामा गत आवमा राजस्व संकलन उत्साहजनक ढंगले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको संकलन हुने अपेक्षा छ’, उनले भने, ‘चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।’










