रौतहट । रौतहटमा हत्या गरी सुटकेसमा फालिएकी रुबीकुमारी साह सुडीको हत्या अनुसन्धानमा प्रहरीले महत्त्वपूर्ण क्लू फेला पारेको छ। घटना सम्बन्धी अनुसन्धानमा संलग्न एक युवक पक्राउ परेका छन्।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, “हामी हत्याराको नजिक छौँ। शव व्यवस्थापनमा संलग्न व्यक्तिलाई पक्राउ गरिसक्यौं। मुख्य हत्याराको खोजी भइरहेको छ।”
गत शनिबार गौर नगरपालिका–२ मा २६ वर्षीय रुबीको शव सुटकेसमा फेला परेको थियो। रुबी चार वर्षीय छोरासहित रौतहटमा बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार शव भेटिएको स्थान घटनास्थलभन्दा टाढा रहेको छ र शरीरमा कुनै चोटपटक नभए पनि नाकबाट रगत आएको पाइएको छ।
प्रहरीले हत्या घटनामा संलग्न युवक केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएको र रुबीसँग विवाहअघि नै सम्पर्कमा रहेको बताएका छन्। घटनापछि मृतकका श्रीमान् भारतबाट रौतहट पुगेका छन्।












