September 25, 2026

कांग्रेस वडा अधिवेशनमा विराटनगर–६ मा झडप

कांग्रेस वडा अधिवेशनमा विराटनगर–६ मा झडप

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा दुई पक्षबीच झडप भएको छ। विवादपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयनका लागि मतदान भइरहेका बेला शुक्रबार दिउँसो दुई पक्षबीच विवाद बढेपछि कुटाकुट भएको हो। घटनापछि केही समय मतदान प्रक्रिया रोकिएको थियो। पछि मतदान पुनः सुरु गरिएको जनाइएको छ।

मोरङ प्रहरीले मुस्लिम कोटातर्फका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार इरसाद अहमदलाई नियन्त्रणमा लिएको जनाएको छ।

विराटनगर–६ को अधिवेशनमा यसअघि पनि सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित हुँदै आएको थियो। असोज ३ गतेदेखि नै नेतृत्व चयनको विषयमा विवाद देखिएको र असोज ८ सम्म पनि प्रक्रिया टुंगिन सकेको थिएन।

यस वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल पक्षबीच प्रतिस्पर्धा भइरहेको छ। सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो।

यद्यपि, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले भने वडा अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते वडा अधिवेशनको कार्यक्रम तय गरेको थियो।

सम्बन्धित खबरहरु