काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातार वर्षाको सम्भावनासँगै आज स–साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लामा आकस्मिक बाढीको जोखिम उच्च रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङमा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। छोटो समयमा ठूलो वर्षा हुँदा खोला तथा खहरेमा पानीको सतह एक्कासि बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।
त्यस्तै ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व–पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका क्षेत्रमा पनि साना नदीको बहाव बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो र गेग्रान बहावको जोखिमप्रति सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाले विशेषगरी नदी तथा खोलाको तटीय क्षेत्र, खहरे र डुबान सम्भावित स्थानमा रहेका नागरिकलाई पानीको बहाव बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान र जोखिम नलिन आग्रह गरेको छ।







