September 23, 2026

टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित

टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित

काठमाडौं ।  अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। जवाफमा रेनेगेड्स २० ओभरमै १०६ रनमा समेटियो।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान १–१ विकेट हात पारे।

ब्याटिङतर्फ नेपालका कुशल मल्लले २२ बलमा २९ रन, कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन, लोकेश बमले १६ बलमा २४ रन, भीम सार्कीले १७ रन तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन बनाए।

यसअघि नेपालले सुरुवाती तीन खेलमा पराजय बेहोरेको थियो। तर चौथो खेलमा होबार्टविरुद्ध ६६ रनले जित निकालेको नेपालले पाँचौँ खेलमा पनि जित निकाल्दै प्रतियोगितामा लय समातेको हो।

हालसम्म ५ खेल खेलेको नेपालले ४ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ। प्रतियोगितामा शीर्ष ४ टोली सेमिफाइनल पुग्ने प्रावधान रहेको छ। नेपालले अब शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

सम्बन्धित खबरहरु

भर्खरै