September 23, 2026

राष्ट्रपति पौडेलको आग्रह: खेलाडीको भविष्य खेलमै सुरक्षित गर्ने नीतिमा सरकारको ध्यान जाओस्

राष्ट्रपति पौडेलको आग्रह: खेलाडीको भविष्य खेलमै सुरक्षित गर्ने नीतिमा सरकारको ध्यान जाओस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली खेल क्षेत्रको विकास र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

भारतमा सम्पन्न म्याट्रिक्स फाइटर नाइट टाइटल जितेर फर्किएका नेपाली एमएमए फाइटर रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन्।

राष्ट्रपति पौडेलले भने, “देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेल क्षेत्रको विकास र खेलाडीको सम्मानमा सरकारले विशेष ध्यान दिनुपर्छ। प्रतिस्पर्धा र प्रशिक्षणका अवसरहरू साथै आवश्यक सुविधा प्रदान गर्न सके मात्रै खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्न सक्छन्।”

उनले खेल व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका राख्ने भन्दै राज्य, खेल संस्था र सरोकारवाला निकायहरूले अझ प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।

बझाङको बाघ भनेर चिनिने ढाँटका बारेमा बोल्दै उनले भने, “रविन्द्र ढाँटले आफ्नो सामर्थ्य, खेल कौशल र समर्पणको बलमा यो उपाधि जित्नु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो।” राष्ट्रपति पौडेलले ढाँटको सफलतामा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

कार्यक्रममा ढाँटको अन्तर्राष्ट्रिय सफलतालाई आदर्शका रूपमा लिँदै अन्य खेलाडीहरूलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको थियो।

सम्बन्धित खबरहरु

भर्खरै