काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय भूमिका नदिन निर्णय गरेपछि उनकी छोरी उषा किरण भण्डारीले तीव्र असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत भावनात्मक प्रतिक्रिया दिएकी छन्।
उषाले आफ्नो पोस्टमा पार्टी नेतृत्वप्रति संकेत गर्दै लेखेकी छन्, “तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क परेका देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहेका छन्? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन।”
पोस्टमा उनले नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस को सन्दर्भ पनि जोड्दै लेखेकी छन्, “मलाई पहिले लाग्थ्यो, किन उनको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन। हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्छिन्। सोहीअनुसार कोसिस गरियो।”
तर पछिल्लो अनुभवले उनलाई ठूलो निराशा दिएको संकेत गर्दै उनले लेखेकी छन्, “विगतको एक महिनादेखि मलाई ज्ञान भयो — नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउँछन्। नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो। त्यस कारण यो प्रकरणलाई धन्यवाद।”
उषाको उक्त अभिव्यक्तिले भण्डारी परिवार र एमाले नेतृत्वबीचको पछिल्लो दूरी, विश्वासको संकट र राजनीतिक व्यवस्थापनप्रति असन्तुष्टि स्पष्ट देखाएको विश्लेषण गरिएको छ।
एमालेले केही दिनअघि मात्रै विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा प्रत्यक्ष सक्रिय नबनाउने निर्णय गरेको थियो। पार्टीभित्रै पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउने या भूमिकामा ल्याउने विषयमा छलफल चलिरहेका बेला आएको यो निर्णयले भण्डारी पक्षको असन्तुष्टि सतहमा ल्याएको छ।










