बारा । जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष ई. दीपक साहमाथि आइतबार बारामा आफ्नै पार्टीका नेताले कालोमोसो छ्यापेका छन्। साह नेतृत्वको असन्तुष्ट पक्षले सुरु गरेको ‘जनसंवाद यात्रा’का क्रममा उनीमाथि दुर्व्यवहार भएको हो।
घटना गढीमाई नगरपालिका–३ दहियाचोकमा बिहान करिब ११ बजे भएको हो। जनमत पार्टीका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा साहमाथि मोसो छ्यापिएको निलम्बित उपाध्यक्ष साहले बताएका छन्।
राउतको निर्देशनमा मोसो छ्यापिएको आरोप
साहका अनुसार उनी भोजनपछि यात्रा जारी राख्न निस्कँदै गर्दा सिंह नेतृत्वको समूहले उनलाई लक्षित गर्दै मोसो छ्यापेको हो। उनले पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा आफूमाथि यस्तो हमला भएको आरोप लगाए। “हामीले जनसंवाद यात्रा सुरु गरेपछि अध्यक्ष निकट समूहबाट धम्की आइरहेको थियो, आज त्यसको पराकाष्टा देखियो,” साहले भने।
‘परिवारवाद र दमन’ को आरोप
निलम्बित साहसहितको समूहले डा. राउतमाथि पार्टीमा परिवारवाद थोपर्न खोजेको र पुराना संघर्षशील कार्यकर्तालाई पछाडि पार्न अनुशासनको नाममा कारबाही गर्ने काम गरिरहेको आरोप लगाएको छ।
रौतहटबाट सुरु भएको यो यात्रा पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न गरिएको जनाइएको छ। निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारको अगुवाइमा संवाद यात्रा अघि बढिरहेको छ।
आन्दोलनको स्वरूप लिँदै विवाद
पार्टी केन्द्रीय सदस्य विपी साहले मोसो छ्याप्ने कार्यलाई “गम्भीर लोकतान्त्रिक विचलन” भन्दै भित्रैबाट छानबिन गर्नुपर्ने माग गरेका छन्।
“राजनीतिक असहमतिको उत्तर हिंसात्मक व्यवहार हुन सक्दैन,” उनले भने।
पार्टीभित्र थप दरारको संकेत
जनमत पार्टीभित्र चुलिएको असन्तुष्टि अहिले संघर्षको रूप लिन थालेको देखिएको छ। पार्टी नेतृत्वबाट कारबाहीमा परेका नेताहरूले सशक्त रूपमा वैकल्पिक धार प्रस्तुत गर्न थालेपछि भित्र्याएको अन्तरसंघर्ष अब खुला रुपमै देखिन थालेको छ।












