September 23, 2026

टी२० विश्वकप छनोट: नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिड्ने

टी२० विश्वकप छनोट: नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिड्ने

काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी२० विश्वकपका लागि छनोटको तयारी हुँदै गर्दा नेपाल समूह ‘बी’ मा परेको छ। आगामी अक्टोबरमा ओमानमा हुने एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता अक्टोबर ८ देखि सुरु हुनेछ। ९ टोली सहभागी यस प्रतियोगितामा नेपालसहित आयोजक ओमान र पपुवा न्यू गिनी सिधै छनोट भएका हुन् भने अन्य ६ टोलीले उप–क्षेत्रीय छनोट पार गरेर स्थान बनाएका छन्। सहभागी टोलीहरूमा नेपाल, ओमान, पपुवा न्यू गिनी, कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआ रहेका छन्।

यसपटक ३ समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह चरणका शीर्ष दुई टोली ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन्। सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म सञ्चालन हुनेछ। अन्ततः शीर्ष तीन टोलीले टी२० विश्वकपको टिकट पाउनेछन्।

नेपाल रहेको समूह ‘बी’ मा उदाउँदो शक्ति जापान र कुवेत छन्। समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्यू गिनी र सामोआ छन्।

त्यसैगरी, महिला टी२० विश्वकप २०२६ को लागि पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट पनि आगामी सेप्टेम्बर ९ देखि १५ सम्म फिजीको सुभामा हुने भएको छ। उक्त प्रतियोगितामा फिजीसहित भानुअतु, पपुवा न्यू गिनी, इन्डोनेसिया, जापान, सामोआ, कुक आइल्याण्ड्स र फिलिपिन्स सहभागी हुनेछन्। फाइनल विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।

यो पुरुष तथा महिला दुवै तर्फ नेपाल क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै