काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। उपभोक्ता अदालतले चिकित्सक तथा अस्पतालहरूलाई उपचारमा लापरबाही भएको ठहर गर्दै क्षतिपूर्ति तिराउने निर्णय गर्न थालेपछि चिकित्सकहरू आन्दोलित भएका हुन्।
आन्दोलनको प्रभाव राजधानी काठमाडौंका वीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताल लगायतका ठूला सरकारी अस्पतालहरूमा देखिएको छ। ती अस्पतालहरूमा ओपीडी, नियमित चेकजाँच, शल्यक्रिया लगायतका सेवा पूर्णतः बन्द छन्। आकस्मिक सेवा भने सञ्चालनमा रहेको जनाइएको छ।
चिकित्सकहरूको सेवा बहिष्कारका कारण सयौं बिरामीहरू उपचार नपाएर अस्पतालबाट फर्किन बाध्य भएका छन्। कतिपय बिरामीहरू लामो समयदेखिको अपोइन्टमेन्ट र शल्यक्रियाको मिति कुरिरहेका थिए।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्लो निर्णयलाई चिकित्सकहरूको पेशागत स्वतन्त्रता र मनोबलमाथिको आक्रमण भन्दै विरोध जनाएको छ। संघका अनुसार, लापरबाही र अनपेक्षित परिणाम फरक कुरा हुन् तर पछिल्ला निर्णयहरूले चिकित्सकहरूलाई अपराधीझैं व्यवहार गरिएको छ।
संघको आह्वानमा भएको आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाहरूले ऐक्यवद्धता जनाएका छन्। ती संस्थाहरूले पनि आज आकस्मिकबाहेकका सेवा बन्द गर्दै चिकित्सक संघको आन्दोलनलाई समर्थन गरेका छन्।
नेपाल चिकित्सक संघले अदालत र सरकारसँग चिकित्सा पेशालाई सुरक्षित र सम्मानजनक वातावरणमा सञ्चालन गर्न मिल्ने व्यवस्था गर्न माग गरेको छ। संघले समाधान नभए आन्दोलनका थप चरण अघि बढाउने चेतावनी पनि दिएको छ।













