September 23, 2026

काठमाडौं आइपुगे रौतहट बम बिस्फोटमा घाइते भएका गौरीशंकर

काठमाडौं आइपुगे रौतहट बम बिस्फोटमा घाइते भएका गौरीशंकर

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई अदालतबाट सफाइ मिलेपछि सो घटनामा घाइते भएका भारत सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन्। उनले आफूमाथि अन्याय भएको बताउँदै न्यायका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे।

२०६४ साल चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटमा गम्भीर घाइते भएका चमार आफताब आलमको घरमा पैसा लिन गएका बेला बम विस्फोट भएको दाबी गर्छन्। “ढोकामा पुगेको मात्र थिएँ, बम पड्कियो। आगो लागेपछि म भागेँ,” उनले पत्रकार सम्मेलनमा स्मरण गरे।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जेठ १४ गते आफताब आलमसहित चार जनालाई बम विस्फोट र जिउँदै मान्छे जलाएको अभियोगबाट प्रमाण अभावको आधारमा सफाइ दिएको थियो। अदालतले ‘बिस्फोट भएको पुष्टि हुने आधार नभएको’ टिप्पणीसहित फैसला सुनाएको थियो।

तर गौरीशंकर चमारले आफू नै घाइते भएको, अस्पतालमा तीन महिनासम्म उपचार लिएको, दुई कान गुमाएको र अनुहार, छाती र घाँटीमा गहिरो चोट लागेको दाबी गरे। “म नै घाइते छु, म नै प्रमाण हुँ,” उनले भावुक हुँदै भने।

चमारले बम विस्फोटपछिको जीवन अत्यन्त पीडादायक भएको बताए। उनले काम पाउन गाह्रो भएको, कतै काम पाइहाले पनि केही दिनमै हटाइने गुनासो गरे। “काम पाइहालेँ भने पनि सात–आठ दिनमै पैसा लिएर गइहाल भन्छन्,” उनले दुखेसो पोखे।

त्यसैगरी उनले आफताब आलमका मान्छेहरूले धम्की दिएको पनि दाबी गरे। “एसपी कार्यालयमा बयान दिन जाँदा मेरो घरमा गएका रहेछन्, आमालाई भनेछन्— तिम्रो छोरा अब केही वर्षमै मर्छ,” उनले सुनाए।

चमारको भनाइ अनुसार भारतको सीतामढीमा उपचार गराउँदा झिकिएको कागजातमा स्टोभ विस्फोट भनेर लेखिएको थियो। उनले भने, “अस्पतालले के लेख्यो मलाई थाहा थिएन, तर म बम विस्फोटमा परेर घाइते भएको हुँ।” अदालतले भने सोही कागजातका आधारमा बम विस्फोटको दाबी अस्वीकार गरेको हो।

पत्रकार सम्मेलनमा गौरीशंकर चमारले अब आफू सर्वोच्च अदालत जाने तयारीमा रहेको बताए। “न्याय म खोज्छु, म बाँचेकै कारण साक्षी म हुँ,” उनले स्पष्ट शब्दमा भने।

उनको कथाले आलम सफाइ प्रकरणमा पुनः बहस उठाउने संकेत दिएको छ। मानवअधिकार र कानुनी क्षेत्रका विज्ञहरूका अनुसार यस्तो साक्षीको बयानपछि अनुसन्धान अझ गहिरो हुनुपर्ने माग उठ्न सक्छ।

सम्बन्धित खबरहरु

भर्खरै