September 22, 2026

सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा

सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा

काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित हुँदै फाइनलमा पुग्ने अवसर गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनायो। टोलीका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको अर्धशतक बनाएका थिए। शेल्डन ज्याक्सनले ४० रनको साझेदारी गर्दै इनिङलाई स्थिर बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी, हरमित सिंह र आरिफ शेखले पनि महत्वपूर्ण रन योगदान दिए।

जवाफी ब्याटिङमा आएको विराटनगर किङ्सले १४.१ ओभरमा मात्र ७८ रन बनाउँदै अलआउट भयो। फाफ डुप्लेसिसले सर्वाधिक ३६ रन बनाएका भए पनि अरू ब्याट्सम्यानहरूले धेरै योगदान दिन सकेनन्। पहिलो दुई ओभरमै तीन विकेट गुमाएपछि विराटनगरको इनिङ कमजोर भयो।

सुदूरपश्चिमका स्कट कुग्गेलिन, हरमित सिंह र अभिनाश बोहोराले समान दुई-२ विकेट लिए भने हेमन्त धामी र कप्तान दीपेन्द्रले एक-एक विकेट लिएर टिमको जित सुनिश्चित गरे।

यस जितसँगै सुदूरपश्चिमले लिगको अन्तिम खेलमा विराटनगरसँग भोगेको हारको बदला पनि लिएको छ र लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै