September 22, 2026

चितवन राइनोजबाट विराटनगर पराजित

चितवन राइनोजबाट विराटनगर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० को दोस्रो संस्करणअन्तर्गत बुधबार भएको १२औँ खेलमा चितवन राइनोजले यसअघिसम्म अपराजित रहेको विराटनगर किंग्सलाई ४८ रनले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। चितवनको जितमा रञ्जित कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट हात पारे।

टस हारेर पहिले फिल्डिङमा उत्रिएको विराटनगर किंग्सले १७५ रनको लक्ष्य पछ्याउने क्रममा १६.५ ओभरमै १२६ रनमा समेटियो। टोलीका मर्चेन्ट डी लाङ्गेले २२ बलमा ३९ रन बनाउँदै सर्वाधिक योगदान दिए। साम हेज्जलेटले ११ बलमा २२ तथा प्रतिश जिसीले १२ बलमा ३० रन बनाए पनि अन्य ब्याटर निष्प्रभ रहे।

विराटनगरले पावरप्लेमा नै ४ विकेट गुमाउँदै ३६ रन मात्र जोडेको थियो। लगातार विकेट पतनपछि विराटनगर खेलमै फर्किन सकेन। अन्तिमतिर प्रतिश जिसीले केही प्रतिरोध गरे पनि ३० रनमा बोल्ड भएपछि पारी ढल्किएको हो। कप्तान सन्दीप लामिछाने ४ रनमा अविजित रहे।

चितवनका लागि रञ्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। उनले पावरप्ले देखि नै विराटनगरका ब्याटरलाई दबाबमा राखे। कमल सिंह ऐरीले २ विकेट जबकि सोहिल तान्भिर, कुशल मल्ल र सैफ जैबले एक–एक विकेट लिए।

पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। रवि बोपाराले ३८ बलमा ६५ रनको अर्धशतकीय पारी खेले। उनलाई जीवनदान पनि मिलेको थियो, जसको फाइदा उठाउँदै उनले कुशल मल्लसँग ५६ रनको साझेदारी गरे।

डेविड मलानले ९ बलमा १७ रन, देव खनालले २८ रन र सैफ जैबले ३२ रन जोडे। कप्तान कुशल मल्ल २० रनमा अविजित रहे।

विराटनगरका मर्चेन्ट डी लाङ्गे र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने शुभम रञ्जानेले १ विकेट लिएका थिए।

यो जितसँगै चितवनले तीन खेलमा दोस्रो जित हात पारेको छ। यसअघि चितवनले कर्णालीलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।

विराटनगर भने तीन खेलमा तीन जितसहित अपराजित थियो तर चितवनसँगको पराजयपछि अपराजित यात्रा रोकिएको छ।

चितवन राइनोजको उत्कृष्ट बलिङ र बोपाराको शान्दार पारीले टोलीलाई महत्वपूर्ण जित दिलाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै