काठमाडौं । नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता हासिल गर्दै सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।
बुधबार ओमानमा सम्पन्न सुपर सिक्स चरणमा युएईले सामोआलाई पराजित गरेसँगै नेपाल अंकको आधारमा विश्वकपमा छनोट भएको हो। नेपालसँगै ओमानले पनि विश्वकपका लागि टिकट पाएका छन्।
सुपर सिक्समा नेपाल र ओमान दुवैले तीन खेलबाट समान ६–६ अंक जोडेका थिए। यससँगै टी–२० विश्वकपमा सहभागी हुने २० मध्ये १९ टोलीको छनोट पूरा भइसकेको छ भने बाँकी एक स्थान सुपर सिक्सका अन्य खेलहरूबाट तय हुनेछ।
यसअघि नेपालले सन् २०१४ मा पारस खड्काको नेतृत्वमा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो। लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउन सफल नेपालले यसपटक तेस्रो पटक विश्वमञ्चमा प्रतिस्पर्धा गर्नेछ।
क्रिकेट विश्लेषकहरूका अनुसार यो उपलब्धि नेपाली क्रिकेटको निरन्तर उन्नतिको प्रमाण हो। प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहित पौडेलको नेतृत्वमा सुदृढ लयमा रहेको टोली अब भारत–श्रीलंका विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ तयारीमा जुट्नेछ।











